वर्तमान परिस्थिति र पार्टीको कार्यभार
(ने.क.पा.(माओवादी)को २०६४ वैशाखमा बसेको केन्द्रीय समितिको वैठकमा पारित ।)
- वस्तुगत परिस्थिति
- आत्मगत परिस्थिति
- आगामी दिशा र कार्यभारबारे
वस्तुगत परिस्थिति
- आजको देशको राजनीतिक परिस्थिति गम्भीर क्रान्तिकारी सङ्कटका रूपमा व्यक्त हुँदै छ । राज्यको अग्रगामी पुनर्संरचनासहित सङ्घात्मक लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने नेपाली जनताको सङ्कल्प एकातिर र अर्कोतिर यथास्थिति कायम राख्न खोज्ने सामन्तवादी र साम्राज्यवादी शक्तिका बीचको अन्तरविरोध प्रतिदिन गम्भीर मुठभेडतिर अगाडि बढ्दैछ । निर्धारित समयमा संविधानसभाको निर्वाचनले मात्र त्यो अन्तरविरोधलाई सहज राजनीतिक निकास दिएर समाधान गर्न सक्दथ्यो । तर, सामान्यतः वामपन्थी जनमत एवं विशेषतः हाम्रो गौरवशाली पार्टीको.क.पा. (माओवादी) को लोकप्रियताबाट त्रसित प्रतिक्रियावादी शक्तिहरूले अनेक बहाना र षडयन्त्र गरी संविधानसभाको निर्वाचन टार्ने प्रपञ्चमा सफल हुँदैछन् । यसरी देश गम्भीर राजनीतिक सङ्कटको अवस्थामा रहेको तथ्य स्पष्ट हुन्छ ।
- नेपाली जनताको शान्ति र अग्रगमनको आकाङ्क्षाका विरुद्ध गत वैशाख ११ गतेबाट नै प्रतिक्रियावादीहरूद्वारा षड्यन्त्रको बीउ रोपिसकिएको तथ्य यहाँ स्मरणयोग्य छ । महान् जनयुद्ध र ऐतिहासिक जनआन्दोनलका उपलब्धिबाट ने.क.पा.(माओवादी)लाई अलग गर्ने गहिरो चाल, ११ गतेको राजासँगको सम्झौता र त्यसपछिका कथित संसदीय घोषणामा देखिएकै थियो । संसदवादी पार्टीको त्यसप्रकारको चालबाजीका विरुद्ध हाम्रो पार्टी लाखौंको सङ्ख्यामा गरेको देशव्यापी जनपरिचालन एवं केन्द्रका तर्फाट गरिएको व्यापक वैचारिक-राजनीतिक हस्तक्षेपको दबाबमा आएर मात्र अषाढ २ गतेबाट शान्तिवार्ता अगाडि बढेको थियो । तर, अषाढ २ गतेको आठबुँदे सहमतिका विरुद्ध अमेरिकी साम्राज्यवादलगायतका विदेशी शक्तिकेन्द्रहरूले सार्वजनिक वक्तव्यहरू दिएपछि प्रमुख संसदवादी दलहरूभित्र चलेको महिनौ लामो कचिङ्गलले वार्ताको सिङ्गो प्रक्रिया नै अवरुद्ध हुने खतरा उत्पन्न भइसकेको थियो । उपर्युक्त सन्दर्भमा बसेको केन्द्रीय समितिको कामीडा“डा वैठकको संश्लेषण र तत्पश्चात् गरिएका दबाबमूलक जनपरिचालन र राजनीतिक हस्तक्षेपकै कारण अन्ततः कार्तिक २२ गतेको सम्झौता सम्भव भएको थियो । त्यो ऐतिहासिक सम्झौतामा भएको सहमति र कार्यतालिकाअनुसार कार्यसम्पादन गर्ने तत्परता प्रदर्शन गर्नुको सट्टा सरकारका तर्फाट त्यसलाई पर धकेल्ने प्रपञ्च जारी नै रह्यो । हाम्रो जनमुक्ति सेनाले शिविरमा प्रदर्शन गरेको धैर्यतापूर्ण नैतिक दबाब, नागरिक आन्दोलनको दबाब र हाम्रो पार्टीको अत्यन्त गम्भीर र जिम्मेवार पहलका कारण अन्ततः अन्तरिम संविधान र अन्तरिम व्यवस्थापिका धेरै ढिलो भए पनि बन्न सक्यो । यहाँसम्म आउँदा देशी-विदेशी प्रतिक्रियावादीहरूका तमाम षड्यन्त्रलाई चिर्दै पार्टीजनताको आकाङ्क्षाअनुसार भावी सङ्घात्मक राज्यको झलक दिने गरी नितान्त नयाँ तरिकाले अन्तरिम व्यवस्थापिकामा आफ्नो प्रतिनिधित्व प्रस्तुत गर्न सफल भयो । यो सफलतासँगै झन् बढेको पार्टीको लोकप्रियताबाट तिलमिलाउन पुगेका साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी तत्त्वहरूको मिलिभगत र गुरुयोजनामा मधेसी आन्दोलनका नाममा वितण्डता मच्चाउने र हाम्रो पार्टीको साख गिराउने अभियानमा जुटे ।
जनयुद्धका दौरान पार्टीद्वारा मधेसी जनताका जायज मागका रूपमा स्थापित नाराहरूको आडमा जनसमुदायलाई भ्रम दिई त्यसभित्र घुसेर आतङ्क मच्चाउन र माओवादी आन्दोलनलाई बदनाम गराउन सबै प्रतिक्रियावादी र अवसरवादीहरू एकजुट हुन पुगे । करिब १ महिनासम्म चलेको त्यसप्रकारको वितण्डताले एकातिर अन्तरिम सरकार गठन गर्न ढिलाई गर्ने प्रतिक्रियावादी उद्देश्य पूरा गरिरहेको थियो भने अर्कातिर मधेसबाट माओवादीलाई 'बढार्ने' सपना पनि उनीहरूले देखिरहेका थिए । तर, जब फाल्गुण १ गतेदेखि काठमाडौंबाट पार्टीद्वारा आरम्भ गरिएका जनसभा विराटनगर, जनकपुर, वीरगञ्ज हुँदै अगाडि बढेको र ती सभाहरूमा लाखौं जनताको उत्साहपूर्ण सहभागिता देखिँदै गयो तब प्रतिक्रियावादीहरू अझ घनिभूत षड्यन्त्रका तानाबाना बुन्न थाले । सञ्चारमाध्यमबाट माओवादी पार्टीनेतृत्व र आन्दोलनका विरुद्ध गोयबल्स शैलीमा धुँवाधार झुट्टो प्रचार गर्नुका साथै माओवादी कार्यकर्ताहरूको अपराधिक तरिकाले कायरतापूर्ण हत्या गर्ने योजनामा प्रतिक्रियावादीरू केन्द्रित हुँदै गए । यो षड्यन्त्रको उत्कर्षा रूपमा रौतहटको गौरमा नरसंहारको मञ्चन गरियो ।
जनयुद्धका दौरान पार्टीद्वारा मधेसी जनताका जायज मागका रूपमा स्थापित नाराहरूको आडमा जनसमुदायलाई भ्रम दिई त्यसभित्र घुसेर आतङ्क मच्चाउन र माओवादी आन्दोलनलाई बदनाम गराउन सबै प्रतिक्रियावादी र अवसरवादीहरू एकजुट हुन पुगे । करिब १ महिनासम्म चलेको त्यसप्रकारको वितण्डताले एकातिर अन्तरिम सरकार गठन गर्न ढिलाई गर्ने प्रतिक्रियावादी उद्देश्य पूरा गरिरहेको थियो भने अर्कातिर मधेसबाट माओवादीलाई 'बढार्ने' सपना पनि उनीहरूले देखिरहेका थिए । तर, जब फाल्गुण १ गतेदेखि काठमाडौंबाट पार्टीद्वारा आरम्भ गरिएका जनसभा विराटनगर, जनकपुर, वीरगञ्ज हुँदै अगाडि बढेको र ती सभाहरूमा लाखौं जनताको उत्साहपूर्ण सहभागिता देखिँदै गयो तब प्रतिक्रियावादीहरू अझ घनिभूत षड्यन्त्रका तानाबाना बुन्न थाले । सञ्चारमाध्यमबाट माओवादी पार्टीनेतृत्व र आन्दोलनका विरुद्ध गोयबल्स शैलीमा धुँवाधार झुट्टो प्रचार गर्नुका साथै माओवादी कार्यकर्ताहरूको अपराधिक तरिकाले कायरतापूर्ण हत्या गर्ने योजनामा प्रतिक्रियावादीरू केन्द्रित हुँदै गए । यो षड्यन्त्रको उत्कर्षा रूपमा रौतहटको गौरमा नरसंहारको मञ्चन गरियो ।
त्यो भयानक नरसंहारका विरुद्ध देशव्यापीरूपमा प्रदर्शित जनआक्रोश तथा पार्टीको सचेत राजनीतिक कार्यनीतिका कारण अमेरिकी साम्राज्यवादको खुल्ला दबाब र धम्कीका बाबजुद अन्तरिम सरकार गठन गर्न तथा संविधानसभाको निर्वाचनको मिति तोक्न उनीहरू बाध्य भए । तर, अहिले अन्तिम समयमा आएर संयुक्त राष्ट्र सङ्घ, निर्वाचन आयोग आदिलाई अगाडि सारेर प्राविधिक प्रश्न देखाउँदै संविधानसभाको निर्वाचन सार्ने प्रपञ्च भइसकेको छ ।
उपर्युक्त विवरणबाट यो कुरा स्पष्ट हुन्छ कि संविधान-सभाको निर्वाचनमा आफ्नो विजय सुनिश्चित नहुँदासम्म साम्राज्यवादी, विस्तारवादी र सामन्तवादी तत्त्वहरू कदापि निर्वाचनमा जाने छैनन् ।
- संविधानसभाको निर्वाचन सार्ने प्रपञ्चसँगै अहिले प्रतिक्रियावादीहरू चारैतिरबाट ने.क.पा.(मओवादी) लाई घेरा हाल्ने रणनीतिमा अगाडि बढिरहेका छन् । दोस्रोचरणको प्रमाणीकरणका नाममा जनमुक्ति सेनाका हजारौं योद्धाहरूलाई समायोजनका लागि अयोग्य ठहर गर्नु, पूर्ण निसस्त्रीकरणको प्रयत्न गर्नु, शिविरबाहिर कानुनी र गैह्रकानुनी सबै तरिकाद्वारा प्रताडना बढाउँदै लैजानु प्रतिक्रियावादी रणनीतिका प्रमुख विशेषता देखिँदै छन् । यी विशेषताहरूलाई मध्यनजर गरेर नै पार्टी अगाडिका कार्यभार निश्चित गर्नुपर्छ ।
- नेपालको राष्ट्रिय स्वतन्त्रता, सुरक्षा र स्वाभिमानमाथि अहिले नियोजित र नग्न वैदेशिक हस्तक्षेप भइरहेको छ । अमेरिकी साम्राज्यवाद, जातीय मुक्तिको लागि ऐतिहासिक प्रक्रियालाई साम्प्रदायिक दङ्गाद्वारा विस्थापित गर्न खुलेआम मधेसी र जनजातिलाई उक्साउँदै हिँडिरहेको छ । कुटनीतिक मर्यादाका सबै मान्यता तोडेर अमेरिकी राजदूतले आन्तरिक मामिलामा निरन्तर हमला गरिहेको स्थिति छ । प्रतिक्रियावादी भारतीय शासकवर्गले खुल्ला र योजनाबद्ध ढङ्गले सीमापारिबाट मधेसमा आतङ्क मच्चाइरहेका छन् । भूटानीकरण र सिक्कीमीकरणको खतरा निकै बढ्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको ने.का. विदेशी प्रतिक्रियावादीको लाचार छायाँमात्र बनेको छ ।
- देशी-विदेशी प्रतिक्रियावादीहरूका उपर्युक्त तमाम षडयन्त्रका बाबजुद ने.क.पा.(माओवादी) आज एउटा वैध क्रान्तिकारी एवं लोकप्रिय शक्तिका रूपमा स्थापित भइसकेको छ । दिन प्रतिदिन हाम्रो पार्टीको अन्तर्राष्ट्रिय छवि र कुटनीतिक सम्बन्ध पनि सुदृढ र विस्तार हुँदै गएको छ ।
आत्मगत परिस्थिति
-
- गत वैशाखको दोस्रो हप्तामा युद्धविराम गरेदेखि अषाढ २ गतेको बालुवाटारको आठबुँदे सहमति हुँदै कार्तिक २२ गतेको सम्झौतासम्म हाम्रो पार्टीको आत्मगत अवस्था वैचारिक, राजनीति, संगठनात्मक र मनोविज्ञानका दृष्टिले निकै आक्रामक र विजयभावको स्थितिबाट अगाडि बढ्यो । यसबीचमा पार्टीप्रति सहरिया मध्यमवर्गदेखि मजदुर, विद्यार्थी, महिला, बुद्धिजीवी, शिक्षक, कर्मचारी, व्यापारी आदि जनताका विभिन्न तह र तप्कामा गुणात्मक ढङ्गले सङ्गठन बृद्धि हुँदै गयो । हजारौं सङ्ख्यामा प्रतिक्रियावादी र अवसरवादी सङ्गठनहरूबाट विद्रोह गरेर कार्यकर्ताहरू माओवादी आन्दोलनमा सामेल भए । विभिन्न जन-वर्गीय सङ्गठन र मोर्चाहरूका सम्मेलन भव्य र आक्रामकरूपमा सम्पन्न भए । चारैतिर आकर्षा र उत्साहको लहर देखापर्यो ।
- गत मार्गदेखि अन्तरिम सरकारको गठनप्रक्रियासम्म आउँदा पार्टीको आत्मगत अवस्था कहिले आक्रामक, कहिले रक्षात्मक र कहिले ठहरावको स्थितिबाट गुज्रिरहेको छ । अत्यन्त तीव्र गतिमा कहिले विजययात्रा, कहिले विरोधजुलुस र कहिले शोकयात्राका क्रममा गुज्रनुपरेको यो अवस्था अन्यौल, अष्पस्टता र फेरि अन्यौल र फेरि स्पष्टता हुँदै अगाडि बढेको छ । पछिल्लो चरणमा दुस्मनको बढ्दो षडयन्त्र, देशव्यापीरूपमा देखापरेको आर्थिक सङ्कट र गौर नरसंहारसमेतको प्रतिबिम्बका रूपमा पार्टी गम्भीर प्रश्न, चिन्ता र पीडा उब्जिएका छन् । शिविरमा जनमुक्ति सेनाको दयनीय अवस्थाले चौतर्फी आक्रोशलाई जन्म दियो । अहिले पार्टी अन्तरिम सरकारमा सामेल भइसकेपछि कैयौं समस्या नयाँ ढङ्गले समाधान हुने अपेक्षा सबैतिर जागेको भए पनि पार्टीको भावी योजनाबारे भने अन्यौल र जिज्ञासा कायम नै छ ।
- अन्तरिम सरकार, संविधानसभाको निर्वाचन र गणतन्त्रको स्थापना गर्ने कार्यनीति पार्टीको धेरै वर्षपुरानो कार्यनीति हुँदाहुँदै पनि चुनवाङ्ग बैठकले यसलाई कार्यान्वयनमा उतार्न मूर्त कार्ययोजना अघि सारेपछि र त्यसअनुसार संसदवादी पार्टीसँग १२-बुँदे समझदारी कायम गरेपछि दश वर्षेखि जारी राजनीतिक र फौजी द्वन्द्वको परिस्थितिमा ठूलो परिवर्तन आयो । यो परिवर्तन देशभित्र राजनीतिक शक्ति सन्तुलनमा आएको परिवर्तनको परिणम मात्र थिएन अपितु बीसौं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूको नयाँ संश्लेषणसहित २१ औं शताब्दीका निमित्त क्रान्तिको नयाँ मार्ग खोज्ने र त्यसका निमित्त नयाँ प्रयोगमा जाने सङ्कल्पको परिणाम पनि थियो । स्वभाविकरूपले नयाँ मार्गको खोजीमा हिँड्दा कहिले विशेषरूपले सहज र कहिले विशेषरूपले जटिल र असहज परिस्थितिको सामना हुन्छ नै । अहिले पार्टी पटक-पटक देखापर्ने गरेका उत्साह, अन्यौल, तरङ्ग र पीडाको पछाडि यथार्थमा त्यही नयाँ गोरेटोमा हिँड्ने जमर्कोकै परिणाम हो ।
- प्रत्येक नयाँ कार्यनीति र योजनालाई बुझ्ने सवालमा पार्टीभित्र दक्षिणपन्थी, वामपन्थी र मध्यपन्थी कोणहरू हुने गर्दछन् । अहिले चालु कार्यनीतिका सन्दर्भम पनि त्यो कुरा लागु भइरहको छ । यतिबेला मुख्य रहेको दक्षिणपन्थी प्रवृत्तिले सम्झौता, सहमति र सरकारमा सहभागितालाई सबैथोक मान्ने, सम्पूर्णरूपले यसैमा रमाउने र विद्रोहको आवश्यकता र तयारीलाई इन्कार गर्ने गर्दछ । परिस्थितिको तीब्र उतारचढावका कारण पार्टीभित्र अन्यौल र अकर्मण्यता सजिलै आउनसक्ने भएकाले मध्यपन्थी प्रवृत्तिको खतरा पनि अहिले निकै बढेको छ । 'वामपन्थी' प्रवृत्तिले दुश्मनका विरुद्ध संघर्षको नयाँ र पेचिलो स्वरूपका कारण सबै कुरा डुबेको र चारैतिर अँध्यारोमात्र देखेर केही निराशा र केही आक्रोशका रूपमा व्यक्त हुने गर्दछ ।
जनयुद्धमा उपलब्धिको रक्षा गर्दै र ती उपलब्धिहरूको जगमा टेकेर जनक्रान्ति पूरा गर्ने उद्देश्य नै वर्तमान कार्यनीतिको प्रमुख उद्देश्य भएको कुरामा स्पष्ट हुँदै चुनौतीहरूको सामना गर्न दृढतापूर्वक अगाडि बढ्नु नै क्रान्तिकारी प्रवृत्तिको परिचायक हो ।
- अन्तरिम सरकारसम्म आइपुग्दा विश्वसाम्राज्यवादका नाइकेहरूसँग टकराउँदै अन्तर्राष्ट्रिय कुटनीतिक क्षेत्रमा एकपछि अर्को सफलता प्राप्त गर्दै जानु आत्मगत दृष्टिले पार्टी लागि महत्त्वपूर्ण उपलब्धि रहेको कुरा अवमूल्यन गर्न सकिन्न । आजको अन्तर्राष्ट्रिय परिस्थितिको प्रतिकूलतालाई नयाँ विचारसहित कूटनीतिक पहलको बलमा एउटा निश्चित सीमासम्म अनुकूलतामा नबदली कुनै पनि देशमा क्रान्ति सफल हुन सम्भव छैन । त्यसदृष्टिले हाम्रो अन्तरिम सरकारसम्मको यात्राले नयाँ वैचारिक हस्तक्षेपलाई नै व्यक्त गर्दछ र त्यसलाई यसरी नै बुझ्न जरुरी छ ।
- आत्मगत दृष्टिले अहिले पार्टीले लिइरहेको कार्यदिशा निश्चय नै एकातिर निकै हराभरा, जीवन्त र सम्भावनायुक्त रहेको छ भने अर्कातिर यो निकै जोखिमपूर्ण पनि छ । यस्तो सङ्गीन र संवेदनशील घडीमा पार्टी भित्र विचारधारात्मक, राजनीतिक, सङ्गठनात्मक र भावनात्मक एकताको विशेष महत्त्व हुन्छ । आधारभूतरूपमा यतिबेला हाम्रो पार्टी उपर्युक्त विषयमा निश्चय नै एकताबद्ध छ र यो अवश्य पनि सम्पूर्ण क्रान्तिकारीहरूका लागि खुसी र गर्वको विषय हो । तर, आजका चुनौतीहरूको सामना गर्न जुन स्तरको सजीव र गतिशील एकताको आवश्यकता हो, त्यो भने पर्याप्त छैन । मधेस लगायतका कतिपय क्षेत्रमा चर्को गुटबन्दी देखापर्नु, चुनवाङ्गको नाम लिँदै चुनवाङ्ग विपरीत आचरण गर्नुले त्यसप्रकारका क्षेत्रमा रहेको गम्भीर समस्यालाई व्यक्त गर्दछन् । गुटबन्दीकै कारण मधेसमा पार्टी ठूलो क्षति ब्यहोर्नु परिरहेको छ । गुटबन्दी, अराजकता, सङ्कीर्णतालगायतका गैरसर्वहारा प्रवृत्तिका विरुद्ध वैचारिक संघर्ष एवं समग्र शुद्धीकरण अभियानलाई नयाँ उचाइमा उठाउन भने अनिवार्य छ ।
आगामी दिशा र कार्यभारबारे
- माथि उल्लिखित वस्तुगत र आत्मगत परिस्थितिको समग्र लेखाजोखा गर्दा पार्टी अगाडिका लागि आफ्नो कार्यनीतिमा महत्त्वपूर्ण परिवर्तन गर्नुपर्ने आवश्यकता स्पष्ट हुन्छ । नेपालको आन्तरिक मामिलामा भइरहेको नाङ्गो वैदेशिक चलखेल र हस्तक्षेप तथा मधेसमा मच्चाइएको आतङ्क र वितण्डताका पृष्ठभूमिमा पार्टी राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता र सार्वभौमिकता एवं भौगोलिक अखण्डताका पक्षमा आवज बुलन्द गर्न जरुरी छ । हामीले लामो समयदेखि मुख्यतः दरबार हत्याकाण्डदेखि सामन्ती निरङ्कुशताको विरुद्धको संघर्षलाई उचितरूपले प्राथमिकता दियौं । १२-बुँदे समझदारीदेखि अहिलेसम्मका घटनाक्रमको विकासले हाम्रो नीतिको वैज्ञानिकतालाई पुष्टि पनि गरिसकेको छ । निरङ्कुशताका विरुद्ध संघर्ष गर्दै जाँदा राष्ट्रघातका विरुद्धको संघर्षले स्वभाविकरूपमा सहायक स्थान ग्रहण गर्यो । अहिले क्रमशः र पुनः राष्ट्रघातका विरुद्धको संघर्षले प्राथमिकता पाउन गएको छ । अतः पार्टी राष्ट्रियताका पक्षमा जोडदार आवाज उठाउने नीति लिन जरुरी छ । यो नीतिसँग अभिन्नरूपमा जोडिएको अर्को कार्यनीति भनेको ने.का.सँगको अहिलेसम्मको सहकार्य, सहमति र सम्झौताको कार्यनीतिको स्थानमा अब उसका विरुद्ध संघर्षको कार्यनीतिलाई प्राथमिकता दिनु पर्छ । ने.का.को राष्ट्रघात र एकाधिकारवादका विरुद्ध राष्ट्रियता र लोकतन्त्रको पक्षमा जोड दिएर नै अहिले पार्टी जनआन्दोलन र जन-समुदायमा समेत देखिएका कतिपय अन्यौलहरूलाई चिरेर अगाडि जान सकिन्छ ।
- उपर्युक्त राजनीतिक कार्यनीति अगाडि बढाउन अन्तरिम सरकार, अन्तरिम व्यवस्थापिका र सडकमा समेत संघर्ष चर्काएर लैजाने नीति अबलमम्बन गर्नुपर्दछ ।
- संविधानसभाको निर्वाचन निर्धारित समयमा नहुने अवस्थामा अबिलम्ब गणतन्त्रको घोषणा गरेर राजनीतिक सहमतिका आधारमा निर्वाचनको मिति तोक्न चौतर्फी दबाब सृष्टि गर्नुपर्छ । यहाँ ध्यान दिनुपर्ने कुरा यो छ कि ने.का. लगायतका प्रतिक्रियावादी शक्तिहरूले आफ्नो नेतृत्वमा सामन्त, नोकरशाह र दलाल पुँजीपतिवर्गकै हित गर्ने यथास्थितिवादी गणतन्त्रको घोषणा गरी आमूल परिवर्तनको आवश्यकता र जन-आकाङ्क्षामाथि कुठाराघात गर्ने खतरा बढेर गएको छ । अतः क्रान्तिकारी कम्युनिष्टहरूको त्याग, बलिदान र पहलका कारण गणतन्त्र स्थापना हुन सक्ने र सकेको यथार्थलाई राजनीतिकरूपले स्थापित गरी सो गणतन्त्रलाई जनताको गणतन्त्रमा रूपान्तरण गर्ने प्रश्नमा पार्टी सर्वाधिक जोड दिनु पर्छ । अहिले संविधानसभाको निर्वाचन सार्ने प्रपञ्च भइरहेको सन्दर्भमा हामीले गणतन्त्रको प्रश्नलाई आन्दोलनका रूपमा उठाएर सरकार, सदन र सडक तीनवटै मोर्चा तताउन जरुरी छ ।
- जनमुक्ति सेनाको शिविर व्यवस्थापन, योद्धाहरूको लागि तलब र अन्य भरणपोषण सुचारु नहुँदासम्म कुनै खाले प्रमाणीकरण हुन नदिने, सदन र सरकारमा जोडदार आवाज उठाइरहने नीति लिनु पर्दछ । व्यवस्थापन र भरणपोषण सुचारु भइसकेपछि हामीले शिविरमा रहेका कैयौं योद्धाहरूलाई योजनाबद्धरूपमा बाहिर ल्याएर आन्दोलनमा सहभागी गराउने नीति लिनु पर्दछ । राज्यका तर्फाबाट व्यवस्थापन र भरण-पोषणमा बेवास्ता जारी रहेमा दबाबमूलक आन्दोलनका लागि समेत शिविरका योद्धाहरूलाई परिचालन गर्नुपर्दछ ।
- क्रान्तिकारी कम्युनिस्टहरूका बीचमा पार्टी एकता गर्ने, ने.का.को राष्ट्रघात र एकाधिकारका विरुद्ध व्यापक गणतान्त्रिक मोर्चा निर्माण गर्ने प्रश्नलाई अन्तिम रूप दिन पहलकदमीलाई बढाएर लानु पर्दछ । त्यसप्रकारको पार्टी एकता र मोर्चा निर्माणलाई नयाँ आन्दोलन र ध्रुवीकरणको आधारको रूपमा लिनु पर्दछ ।
- पार्टीको हिस्सामा रहेका मन्त्रालयका कामकारबाहीलाई जनसम्बन्ध सुदृढ गर्ने, व्यापक कार्यकर्ता परिचालन गरी देशव्यापी रूपको आर्थिक समस्या समाधान गर्ने, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने र क्रान्ति सफल गर्न आवश्यक पूर्वाधार निर्माण गर्ने काममा व्यवस्थित र योजनाबद्ध ढङ्गले परिचालित गर्नुपर्दछ ।
- केन्द्रीय स्तर र स्थानीय स्तर दुवैतिरबाट प्रहरी, सेना र प्रशासनयन्त्रमा पार्टीको काम र प्रभावलाई बढाउँदै लैजान विशेष ध्यान दिनु पर्दछ । सबै प्रहरी, सेना र कर्मचारी एकैनास छैनन् र उनीहरूभित्र रहेका देशभक्त र राष्ट्रवादी तत्त्वहरूलाई गोलबन्द गर्न विशेष योजनाका साथ अगाडि बढ्न जरुरी छ । यसरी मात्र हामीले पुरानोको विघटन र क्रान्तिको सफलताका लागि आधार तयार पार्न सकिन्छ । विद्रोहको तयारी र सफलता हामी कसैको चाहना र भावनामा होइन गम्भीर र चौतर्फी तयारीमा भर पर्दछ ।
- पार्टीको निरन्तर सर्वहाराकरण र शुद्धीकरण एवं जनसम्बन्ध विस्तार र सुदृढीकरण नै त्यस्ता हतियार हुन् जसले पार्टीलाई निरन्तर विजयको शिखरतिर लगिरहेको हुन्छ । बदलिएको परिस्थितिमा ग्रामीण क्षेत्रको कामलाई उपेक्षा गर्ने तथा अनावश्यकरूपले सहरबजारमा नेता, कार्यकर्ताको केन्द्रीकरणको स्थितिलाई बदल्न जरुरी छ । कहीँ र कहिल्यै पनि क्रान्तिको बनिबनाउ र सहज राजमार्ग भेटिँदैन, कठोर परिश्रम, दुःख, कष्ट र जटिलताको सामना गरेर नै क्रान्ति अन्ततः सफलताको शिखरसम्म पुग्दछ ।
« फिर्ता